ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



प्रधानमन्त्री ओलीलाई हिटलर र तानाशाह हो भनेर सोध्ने पत्रकारको संसद पास निलम्बन


प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा हिटलर हो भनेर प्रश्न सोधेका पत्रकारको पास निलम्बन भएको छ।

संसद भवन प्रवेशका लागि संघीय संसद सचिवालयले पास उपलब्ध गराउने गर्छ।

सचिवालयले प्रधानमन्त्री ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै दुई पत्रकारको पास एक महिनाका लागि निलम्बन गरेको हो। गत फागुन ४ गते ती पत्रकारहरूले प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका थिए।

सचिवालयको महासचिवस्तरीय निर्णयबाट 'सुनौलो नेपाल' युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको छ।

ती पत्रकारहरूले संसद भवन परिसरभित्र देखाएको व्यवहार र शैलीले संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको देखिएको सचिवालयको भनाइ छ।

पत्रकार आचारसंहिता २०७३ अनुसार पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र पत्रकारिता गर्नुपर्ने, सार्वजनिक शिष्टाचार र नैतिकता प्रतिकूल हुने सामग्री उत्पार्दन, प्रकाशन र वितरण गर्न नहुने उल्लेख  रहे पनि श्रेष्ठ र वलीले पत्रकारिताका आधारभूत मूल्यमान्यता विपरित अमर्यादित शब्द प्रयोग गरी प्रधानमन्त्रीलाई तानाशाह र हिटलर जस्ता विशेषण प्रयोग गरेको सचिवालयको भनाइ छ।

ती पत्रकारहरूलाई मिडिया सेन्टरसम्म जानका लागि दिइएको पास फिर्ता गर्न सचिवालयले बुधबारसम्मको समय दिएको छ।

सत्तारूढ नेकपा (एमाले) का सांसद सूर्य थापाले फागुन ५ गतेको बैठकमा पत्रकारहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्दा प्रयोग गरेका शब्दबारे संसदको ध्यानाकर्षण गराएका थिए।

‘प्रधानमन्त्री प्रश्नोत्तरबाट बाहिरिँदा तपाईं हिटलर हो भनेर प्रश्न गरियो। संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ?,’ थापाले संसदमा बोल्दै भनेका थिए।

‘सांसदलाई सोधिने प्रश्नमा गालीगलौज तथा पेड मिडियाको भूमिका खेल्ने गरी कसैद्वारा परिचालित ढंगले आरोपित गर्ने गरी प्रश्न गर्न पाइन्छ कि पाँइदैन,’ थापाले सोधे, ‘संसद सचिवालयको अनुमतिले रिपोर्टिङमा आएको मिडियाको साथीहरूले संविधान, कानुन, पत्रकार आचारसंहिता, सामाजिक शिष्टाचार यी कुरालाई ध्यान नदिई गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन?’

त्यसपछि संघीय संसद सचिवालयले प्रधानमन्त्रीलाई त्यसरी प्रश्न सोध्ने युट्युबर को हो भनेर खोजेको थियो। सचिवालयले तानाशाह भन्ने युवा मन नेपालका श्रेष्ठ र हिटलर भन्ने सुनौलो नेपालका प्रकाश ओली रहेको पत्ता लगाएर उनीहरूलाई एक महिना संसद प्रवेशमा रोक लगाएको हो।

श्रेष्ठ मोरङ उर्लाबारी वडा नम्बर ६ मा का श्रेष्ठ २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाटै वडा सदस्यको उम्मेदवार थिए।  

श्रेष्ठले उर्लाबारी वडा नं ६ को वडा सदस्य पदमा ६ सय ३३ मत ल्याएका थिए। निर्वाचन भने १ हजार ९ मत ल्याएर कांग्रेसका बमबहादुर श्रेष्ठले जितेका थिए।

प्रकाश ओली पनि एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको लुम्बिनी प्रदेश कमिटी सदस्य रहेको खुलेको संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ।

 

 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.