ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



गृहमन्त्री र पर्यटनमन्त्रीलाई बर्खास्त गर्न देउवालाई कांग्रेस सांसद् बजगाईको पत्र


काठमाडौँ— नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई बर्खास्त गर्न माग गर्दै प्रमुख सचेतक श्यामकुमार घिमिरेमार्फत संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई पत्र बुझाएका छन् ।

आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सांसद् बजगाईले गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेलाई कारबाही गर्न माग गरेको पत्र प्रमुख सचेतक घिमिरेलाई बुझाएको कांग्रेस संसदीय दलमा कार्यरत एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

सांसद बजगाईंले ‘पार्टीको छवि जोगाउन भ्रष्टाचारमा संलग्न र कमजोर प्रदर्शन गर्ने मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गर्नुपर्ने सम्बन्धमा’ शीर्षकमा लेखेको पत्रमा कांग्रेसका केही मन्त्रीहरूको कार्यशैलीले पार्टीको गरिमा र जनविश्वासमा गम्भीर धक्का पुर्‍याइरहेकोले पार्टीले समयमै कठोर निर्णय नलिए यसले भविष्यमा अझ गम्भीर राजनीतिक नतिजा ल्याउने उल्लेख गरेका छन् ।

उनले गृहमन्त्री लेखकको सचिवालयमा कार्यरत कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाउनु गृहमन्त्रीको नैतिक जिम्मेवारीमाथिको प्रश्न भएको बताएका छन् । ‘गृहमन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाइसकेको छ। प्रकाशित सार्वजनिक समाचार अनुसार, गृहमन्त्री रमेश लेखकको सचिवालय नै मानव तस्करी र आप्रवासन दुरुपयोगमा संलग्न देखिएको छ भनिएको छ, जुन राज्यको सबैभन्दा संवेदनशील निकायहरूमध्ये एकमा देखिएको गम्भीर संकट हो,’ बजगाईले पत्रमा लेखेका छन्, ‘यस्तोमा गृहमन्त्रीको नैतिक जिम्मेवारी उठ्नुपर्ने हो। यो गृह मन्त्रालयको नेतृत्व मात्र होइन गृह मन्त्रालय संरचनाप्रतिको कानुनी प्रश्न हो।’

सांसद बजगाईले त्यस्तै, संस्कृतिमन्त्री बद्री पाण्डेको नेतृत्वमा रहेको मन्त्रालयले देशको पर्यटन क्षेत्रलाई नै तहसनहस बनाएको उनले पत्रमा उल्लेख गरेका छन् । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था हेर्दा यस्तो लाग्छ कि त्यो ठाउँ तस्करहरूको केन्द्र बनेको छ। विमानस्थलभित्र रहेका दुकान, सेवा प्रदायक, लोडर, क्लिनिङ कम्पनी तथा अन्य धेरै आउटसोर्स कम्पनीका सञ्चालकहरू नै सुन र विदेशी मुद्रा तस्करीमा संलग्न रहेको प्रमाणित भइसकेका मानिसहरूको एप्रोन र जहाजसम्मै हुने गर्दछ,’ बजगाईले पत्रमा लेखेका छन् ।

विमानस्थलको ब्याजेज बेल्टदेखि प्रस्थान क्षेत्र, ग्रीन च्यानल लाइन, भन्सारदेखि कर्मचारीहरूबिचको समन्वय सबै क्षेत्र चरम अस्तव्यस्त छन्। विदेशी पाहुनाले नेपाल टेकेकै दिन अव्यवस्था, दुर्गन्ध, ढिलाइ र गैरजिम्मेवार व्यवहार भोग्नुपर्ने अवस्था सृजना भइरहेको बजागाईले उल्लेख गरेका छन् ।

उनले पत्रमा पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका, वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गर्न माग गरेका छन् ।
श्रदेय नेता ज्यू, नेपाली कांग्रेस संसदीय दल
(श्री माननीय शेर बहादुर देउवा ज्यू
सभापति नेपाली कांग्रेस)
संघीय संसद, काठमाडौँ

विषय: पार्टीको छवि जोगाउन भ्रष्टाचारमा संलग्न र कमजोर प्रदर्शन गर्ने मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गर्नुपर्ने सम्बन्धमा

माननीय नेता ज्यू,

नेपाली कांग्रेसको नेतृत्वमा रहेका केही मन्त्रीहरूको कार्यशैलीले आज हाम्रो पार्टीको गरिमा र जनविश्वासमा गम्भीर धक्का पुर्‍याइरहेको छ, (तर केहि मन्त्रीहरूले पार्टीको गरिमा उठाउने प्रयास पनि गरिरहेकै छन्) यदि पार्टीले समयमै कठोर निर्णय लिएन भने, यसले भविष्यमा अझ गम्भीर राजनीतिक नतिजा ल्याउनेछ।

हामी जनप्रतिनिधि भएर यस कारण आएका हौं कि— शिरमा ढाका टोपी, महेलपोशमा आत्मविश्वास, अन्तर्राष्ट्रिय क्षितिजका अनुभवसँगै, हामी नेपाली नागरिकको सम्भावनाका प्रतीक बन्न सकौं। हामी निर्धन, निमुखा, सीमान्तकृत जनताको आँसु पुछ्न, उनीहरूको पीडा महसुस गर्न, र पार्टीको गौरवशाली इतिहास जोगाउँदै जनविश्वासलाई अझ गहिरो बनाउन आएको हो।

हाम्रो मतदाता को हुन्?
उनीहरू वृद्धवृद्धा हुन्, गरीब आमादीदीबहिनीहरू हुन्, दलित, मजदुर, सीमान्तकृत समुदाय हुन्—जसका छोराछोरीहरू खाडी मुलुकमा, बहुधा “भिजिट भिसा”मा पुगेका छन्। तिनीहरूको त्यहाँको पीडा, असुरक्षा, अनिश्चितता देख्दा मेरो मनमा एक गहिरो प्रश्न उठ्छ—यो पीडा कहिले मेटिन्छ? कसरी मेटिन्छ?

आज पार्टीका नाममा सरकारमा एउटै अनुहार बारम्बार किन ल्याइन्छ? जब अन्य प्रगतिशील शक्तिहरू परिवर्तन हुँदैछन्, नयाँ पुस्तालाई जिम्मेवारी दिइरहेका छन्, तब हामीकहाँ किन उही पात्र बारम्बार मन्त्री बनिरहेका छन्? के उहाँहरू साँच्चै योग्य हुन्? कि केवल प्रणालीका लुपहोल्स चिन्न र त्यसको फाइदा लिन सक्षम भएकै कारण मन्त्री बन्ने पात्र हुन्?

म चाहन्छु, हाम्रो पार्टीका नेताहरूले सोचून्— जनप्रतिनिधि बनेका हामी गाउँका सडकमा निःसंकोच हिँड्न सक्ने बनौं।
हामी जनताको आँखामा आँखा मिलाएर भन्न सकौं—“हामी तपाईंका प्रतिनिधि हौं, तपाईंको पीडा हाम्रो जिम्मेवारी हो।”

सबैभन्दा पहिले, गृह मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले छानबिन अघि बढाइसकेको छ। प्रकाशित सार्वजनिक समाचार अनुसार, गृहमन्त्री रमेश लेखक (माननीय रमेश लेखकको भद्रता सम्झदा यो होईंन होला भन्ने एउटा मनको छेउमा लागी रहेकै भएतापनि) को सचिवालय नै मानव तस्करी र आप्रवासन दुरुपयोगमा संलग्न देखिएको छ भनिएको छ, जुन राज्यको सबैभन्दा संवेदनशील निकायहरूमध्ये एकमा देखिएको गम्भीर संकट हो। यस्तोमा गृहमन्त्रीको नैतिक जिम्मेवारी उठ्नुपर्ने हो। यो गृह मन्त्रालयको नेतृत्व मात्र होईन गृह मन्त्रालय संरचनाप्रतिको कानूनी प्रश्न हो। 

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री वद्री पाण्डे को नेतृत्वमा रहेको मन्त्रालयले देशको पर्यटन क्षेत्रलाई नै तहसनहस बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) को अवस्था हेर्दा यस्तो लाग्छ कि त्यो ठाउँ तस्करहरूको केन्द्र बनेको छ। विमानस्थलभित्र रहेका दुकान, सेवा प्रदायक, लोडर, क्लिनिङ कम्पनी तथा अन्य धेरै आउटसोर्स कम्पनीका सञ्चालकहरू नै सुन र विदेशी मुद्रा तस्करीमा संलग्न रहेको प्रमाणित भइसकेका मानिसहरूको एप्रोन र जहाजसम्मै Access हुने गर्दछ। 

बिमानस्थलको ब्याजेज बेल्टदेखि प्रस्थान क्षेत्र, ग्रीन च्यानल लाइन, भन्सारदेखि कर्मचारीहरूबीचको समन्वय सबै क्षेत्र चरम अस्तव्यस्त छन्। विदेशी पाहुनाले नेपाल टेकेकै दिन अव्यवस्था, दुर्गन्ध, ढिलाइ र गैरजिम्मेवार व्यवहार भोग्नुपर्ने अवस्था सृजना भैरहेको धेरै भयो। यसको प्रत्यक्ष जिम्मेवारी मन्त्री पाण्डे र उहाँको मन्त्रालयमा पर्छ।

त्यो मात्र होइन, मन्त्री पाण्डे हाल चिनियाँ सांस्कृतिक प्रभाव विस्तारमा लागिरहेको देखिएको छ। उहाँले पञ्चेन लामालाई नेपाल निमन्त्रणा गरी नेपाली पर्यटन क्षेत्रमा चिनियाँ सांस्कृतिक उपनिवेशवाद प्रवर्धन गर्ने गतिविधिहरूलाई सहयोग गरेका छन्, जुन नेपालको स्वतन्त्रतामाथिको घात हो।

यसअघि पनि मैले मन्त्री वद्री पाण्डेविरुद्ध सार्वजनिक रूपमा बोलेको थिएँ, तर पार्टी नेताहरूले मलाई “पहिले पार्टीभित्र कुरा राख” भन्ने सुझाव दियो। त्यो सल्लाह तत्काल मलाई अनुपयुक्त लागे पनि, पार्टी अनुशासनका कारण मैले सम्मानपूर्वक स्वीकारेँ। आज फेरि म पार्टीकै वरिष्ठ नेता आनन्द ढुंगाना र महामन्त्री विश्वप्रकाश शर्माको आग्रहमा यो विषय औपचारिक रूपमा लेखिरहेछु।

यस पटक मेरो भनाइ स्पष्ट छ — गम्भीर रूपमा असफल भएका, वा नियतवस र लोभले पार्टीको छवि बिगार्ने कार्यमा संलग्न मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गरिनुपर्छ यसभित्र एकाध मन्त्री थपिएलान्, एकाध पार्टीलाई थप उचाईमा उठाउने पनि होलान्। प्रसंशा र बर्खास्ती संग़ै होस। यसो नगरेमा पार्टीले आफ्नो नैतिक धरातल गुमाउनेछ।

म बुझ्दछु, लोकतन्त्रमा न्यायका लागि खुलेर बोल्नुपर्छ — र म त्यो कर्तव्य निभाउँदैछु। म यो पनि जान्दछु कि शक्तिशाली व्यक्तिहरूले राज्य संयन्त्र प्रयोग गरेर मलाई फसाउन सक्ने खतरा छ, र केही नेताहरूले यसबारे मलाई पहिले नै सचेत गराइसकेका छन्।

तर मलाई विश्वास छ — सभापति शेरबहादुर देउवा ज्यू, जसलाई नेपाली लोकतन्त्रको “आस्था र सहमतिका आधार” को रूपमा मानिन्छ, उहाँले यी गम्भीर विषयहरूमा तुरुन्त गम्भीर ध्यान दिनुहुनेछ। उहाँ जस्तो गहिरो राजनीतिक व्यक्तित्वले पार्टीको हितमा ठोस निर्णय लिनुहुनेछ भन्ने मेरो पूर्ण विश्वास छ।

अतः म आग्रह गर्दछु — पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका, वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गरियोस्।

इमानदारीपूर्वक,
राजेन्द्र बजगाईं
(सांसद तथा नेपाली कांग्रेस सदस्य)



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.