नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घरमा नभई मध्यरात ललितपुर लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेको खुलेको छ।
प्राप्त जानकारीअनुसार माओवादी केन्द्रका अध्यक्ष छोरी–ज्वाइँ र केही नजिकका आफन्तसहित मंगलबार साँझ लाँकुरी भञ्ज्याङको रिसोर्ट पुगेका थिए। उनी त्यहाँ रात बिताउने गरी गएका थिए।
प्रचण्ड मंगलबार मध्यराति लडेको र तुरून्तै मेडिसिटी ल्याइएको उच्च स्रोतले जानकारी दियो।
‘उहाँलाई दुई बजेतिर मेडिसिटी ल्याइएको थियो। सामान्य उपचारपछि साढे चार बजेतिर डिस्चार्ज गरिएको हो,’ स्रोतले भन्यो।
प्रचण्डको टाउकामा तीनवटा टाँका लगाइएको छ भने उनको स्वास्थ्यावस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दियो।
उनकी छोरी गंगा दाहालले पनि बाथरूममा चिप्लिएर अध्यक्ष प्रचण्डको निधारको बाहिरी भागमा सामान्य चोट लागेको फेसबुकमा लेखेकी थिइन्। तर कहाँ लडेको उल्लेख गरेकी थिइनन्। उनले बाथरूममा लडेको मात्रै उल्लेख गरेकाले मानिसहरूले घरमै लडेको अनुमान गरेका थिए।
‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद!,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्।
टेरेस रिसोर्ट काठमाडौं उपत्यकाको महँगोमध्ये पर्छ। त्यहाँ सामान्य कोठाको मूल्य नै ३१ हजार ७२१५ रूपैया पर्ने उक्त रिसोर्टले वेब साइटमा उल्लेख गरेको छ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com